ऐतिहासिक देवदह प्राकृतिक ताल ओझेलमा ।

 नवलपरासीको सुनवल नगरपालिका -७ तरगौलीमा रहेको देवदह ताल ओझेलमा पर्न थालेको छ । उचित संरक्षण तथा सम्वर्द्धनको  अभावमा ऐतिहासिक प्राकृतिक ताल ओझेलमा परेको हो ।


तालमा पर्याप्त पानी भएपनि जल्कुम्बी र झार धेरै भएकाले तालको सुन्दरता छोपिएको छ ।



यो तालको गहिराइ कति छ भन्ने अहिलेसम्म कसैलाई थाहा छैन । पर्यटकीय सम्भावना बोकेको तालको संरक्षण हुन नसक्दा पर्यटक भित्राउन सकिईएको छैन । पूर्वपश्चिम राजमार्ग अन्तर्गत सुनवल नगरपालिकाको ज्यामिरेबाट चार किलोमिटर दक्षिण तर्गौलीमा रहेको यो ताल क्षेत्रमा ऐतिहासिक साम्यमाई मन्दिर, बौद्ध गुम्बा सहितको हरियाली र रमणीय वातावरण रहेको छ ।


कोलीय गणराज्यभित्र पर्ने देवदह ताल तरगौलीमा गौतमबुद्धकी आमा मायादेवीले स्नान गरेको तथा सो क्षेत्रमा मायादेवीकी माइली बैनी साम्यमाईको परिवार बसोवास गर्ने सुन्दर राजमहल रहेको 'बुद्धस्य जीवनमा वृत्तान्त' नामक ग्रन्थमा उल्लेख भएको पाइन्छ । 



ताल संरक्षणका लागि योजना बनाएर अघि बढ्ने सुनवल नगरपालिका वडा नं. ७ का अध्यक्ष बसन्त राज दाहाल बताउँछन् । उनी भन्छन् , "देवदह तालको महत्व धेरै छ । यो ऐतिहासिक महत्व बोकेको ताल पनि हो । पहिले हामीले तालकै लागि बजेट छुट्याएर पोखरी सरसफाइ पुननिर्माण जस्ता कामहरू पनि भएका छन् ।"


विगत केही वर्षमा कोभिडले गर्दा बजेट निकास कम भइरहेको र मनोरञ्जनका लागि ताल रमणीय भएपनि संरक्षणको अभावमा कुरूप बन्दै गएको अध्यक्ष दाहाल पनि स्वीकार गर्छन् । ताल संरक्षणका लागि उपराष्ट्रपति नन्द बहादुर पुनसँग आग्रह समेत गरिएको र अब ताल संरक्षणका लागि योजना बनाएर अघि बढ्ने उनको भनाइ छ ।

वास्तविक देवदह ताल यही तरगौली भए पनि ओझेलमा पर्दै गएको ऐतिहासिक देवदह ताल संरक्षण समितिका कोषाध्यक्ष राम बहादुर महत बताउँछन । महतका अनुसार विकासको लागि स्थानीय सरकारको बजेटले मात्र प्रयाप्त नभएकोले प्रदेश र केन्द्र सरकारबाट पनि बजेट निकास हुन सके यहाँको मुहार फेरिन सक्छ ।


कहिलेकाहीँ दहको बीचमा सुनको नथुनी लगाएको माछा देखिने तर पछि उक्त माछा लोप भएको तथा ती माछा खान पनि नहुने विश्वास रहेको स्थानिय पुजारी कुल प्रसाद कठरिया बताउँछन ।


तरगौलीमा रहेको देवदह तालको संरक्षण र विकास गरी कुशल व्यवस्थापन गर्न सकेमा यस ठाउँको महत्व एवं सामाजिक, आर्थिकस्तरलाई माथि उठाउन सकिने सम्भावना रहेको स्थानीयवासी राजु केसी बताउँछन । दहलाइ पर्यटकीय हिसाबले विकास गर्न सक्ने हो भने वडा बासिहरूको जीवन स्तर उकास्न दहले महत्त्वपूर्ण भूमिका खेल्ने उनले बताए । लुम्बिनी विकास कोषबाट  प्राप्त हुने बजेट केही वर्षदेखि नपाएपछि हाल ताल संरक्षणका लागि मन्दिरमा चढाउने भेटी प्रयोग गरिएको छ । यस क्षेत्रका बुद्धस्थललाई समेटेर एकीकृत विकास गरिनुपर्ने उनको जोड छ ।


नेपाललाई विश्वले बुद्ध र सगरमाथाको देश भनेर चिन्छ । हामीले बुद्धकालिन सम्पदाहरूको संरक्षण, खोज, अनुसन्धान र विकास गर्न सके विश्वका बौद्धमार्गी लगायत सबैखाले पर्यटकहरूको यहाँ भिड लाग्ने र त्यसले देशकै पर्यटन विकासमा टेवा पुर्याउनेछ ।


 


२५१० वर्ष पहिलाको बुदस्य जीवन वृत्तान्तम नामक ग्रन्थमा उल्लेख भएअनुसार बुद्धको विवाहपश्चात् श्रीमती भागेर माइत गएपछि खोजिका लागि बुद्ध मावली आउँदा आफ्नो श्रीमतीलाई नभेटेपछि विरक्तीएर सिकार खेल्न कमल पोखरी अर्थात देवदह ताल तरगौलीमा आइपुगे । आफ्नो साथमा भएको धनुवाणले चारो लिन आएको राजहंसलाई मार्न खोज्दा राजहंसले प्राथना गरी मलाई मात्र होइन मेरा छोराछोरीहरुलाई सबैलाई मार भनेपछि बुद्धको ज्ञान खुल्यो र माहात्मा बन्न प्रेरणा पुग्यो ।


उनको साथमा रहेका हतियारहरु सोही ठाउँमा फ्याके र तालको पूर्वपट्टिको पाकडी रुखमुनि सात दिनसम्म तपस्या गरेका हुन् भन्ने किम्बदन्ती पाइन्छ । गौतमबुद्धका आमाहरु तीन बहिनी रहेको र मायादेवीकी माहिली बहिनी साम्यमाई यसै तरगौली गाउँमा बसोवास गरेको हुदाँ उनलाई साम्यमाई भनिएको हो । शास्त्रका अनुसार यस ऐतिहासिक साम्यमाई मन्दिरको चारै तिर महलहरु थिए ।


#devdahataal

Comments